४१५ रुपैयाँको सामान किनेका ग्राहकलाई बिगमार्टको १० लाखको बम्पर उपहार
वि.सं.२०८३ कात्तिक १६ सोमवार ११:४२
shares

काठमाडौं, १६ कात्तिक। बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत ती ग्राहक बम्पर उपहारका लागि छनोट भएका हुन् । कात्तिक १ देखि १५ गतेसम्म भएका कारोबारका आधारमा विजेता छनोट गरिएको विभागले जनाएको छ ।
यस अवधिका लागि विभागले थप १५ जना ग्राहकलाई पाक्षिक विजेताका रूपमा समेत छनोट गरेको छ ।
विजेताहरूको नाम अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) का क्रिकेट खेलाडीहरूको समेत सहभागिता रहेको थियो ।
विभागले कर प्रणालीमा सहभागिता बढाउन तथा करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



















