Dhulikhel Eco Banner new

अब काठमाडौं २४सै घण्टा सञ्चालन गर्ने तयारी

195
shares

काठमाडौं, २२ कात्तिक। काठमाडौंलाई २४सै घण्टा सञ्चालन हुने सहरका रूपमा विकास गर्ने तयारी अघि बढाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल रात्रिकालीन गतिविधिका लागि परिचित ठमेल क्षेत्रबाहिर पनि सहरभरि चौबीसै घण्टा सेवा तथा व्यवसाय सञ्चालन गर्ने योजनामाथि छलफल अघि बढाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद पौडेलका अनुसार यस योजनालाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ।

योजना कार्यान्वयनका क्रममा सार्वजनिक सुरक्षा, ट्राफिक व्यवस्थापन, पार्किङ, फोहोरमैला व्यवस्थापन तथा गैरकानुनी गतिविधि नियन्त्रणलगायतका चुनौती समाधान गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।

योजना कार्यान्वयनमा आएमा काठमाडौंमा रातिको समयमा समेत व्यवसाय, सेवा तथा अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सकिनेछ। यसबाट पर्यटन प्रवर्द्धन, व्यवसाय विस्तार र रात्रिकालीन अर्थतन्त्रलाई गति मिल्ने अपेक्षा गरिएको छ।

ठमेलमा सीमित रात्रिकालीन गतिविधिलाई काठमाडौंका अन्य क्षेत्रमा समेत विस्तार गर्ने यो योजनाले राजधानीको आर्थिक तथा पर्यटन गतिविधिमा नयाँ सम्भावना सिर्जना गर्न सक्ने देखिन्छ।