Dhulikhel Eco Banner new

सूर्य उपासनाको महापर्व छठ विधिवत रूपमा सुरु, आज ‘नहाय-खाय’

559
shares

सूर्य उपासना र लोकआस्थाको महापर्व छठ आजदेखि विधिवत रूपमा आरम्भ भएको छ। चार दिनसम्म अत्यन्तै श्रद्धा र निष्ठापूर्वक मनाइने यस पर्वको पहिलो दिन आज बर्तालुहरूले ‘नहाय-खाय’ विधि गर्दैछन्। यसअन्तर्गत नजिकैको नदी, पोखरी वा जलाशयमा पवित्र स्नान गरी चोखोनीतो (सात्विक) भोजन ग्रहण गरेर व्रतको सङ्कल्प लिने परम्परा रहेको छ।

पर्वको दोस्रो दिन अर्थात् भोलि ‘खरना’ विधि सम्पन्न गरिनेछ। यस दिन बर्तालुहरू दिनभर निराहार उपवास बस्छन् र राति सख्खर तथा अरवा चामलबाट तयार पारिएको खिर छठी माता एवं इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन्। त्यस्तै, मुख्य मानिने तेस्रो दिनलाई ‘सँझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। यस दिन साँझपख झकिझकाउ पारिएका नदी वा तलाउका घाटमा पुगेर कम्मरसम्म पानीमा डुबुल्की मारी बर्तालुहरूले अस्ताउँदो सूर्यलाई डालोमा सजाइएका प्रसाद सामग्रीसहित अर्घ्य दिने चलन छ।

चौथो तथा अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेपछि यो महापर्वको विधिवत समापन हुन्छ। कुनै समय तराई-मधेस र विशेषगरी मिथिलाञ्चलमा मात्र सीमित यो पर्वले पछिल्लो समय भने राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ। पहाड र मधेसबीचको बढ्दो सांस्कृतिक अन्तरघुलनले छठलाई सम्पूर्ण नेपालीको साझा पर्वका रूपमा स्थापित गरेको छ, जसले आपसी भाइचारा र सामाजिक सद्भावलाई समेत प्रगाढ बनाएको छ।