Dhulikhel Eco Banner new

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार राहत

507
shares

काठमाडौं, २७ कात्तिक। सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार एक दिन स्थानीय शोक बिदासमेत दिएको छ ।

गाउँपालिकाले बिहीबार जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार बिहीबार बिहान मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, सिचापानी क्षेत्रमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना यात्रुको दुःखद निधन भएको थियो ।

उक्त दुर्घटनामा आफ्ना स्थानीय नागरिक गुमाउनुपरेपछि गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।

गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । साथै मृतकहरूप्रति सम्मान प्रकट गर्दै गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आज एक दिन शोक बिदा दिइएको छ ।