नेपाल टेलिकमको पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ४० रुपैयाँ नाघ्यो
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०८:३८
702
shares
shares

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) मा पनि उल्लेख्य छलांग आएर प्रतिसेयर ४० रुपैयाँ ४५ पैसा पुगेको छ।
मुख्य व्यावसायिक क्षेत्र मानिएको ग्राहकसँगको सेवा सम्झौताबाट हुने आम्दानी भने यस अवधिमा लगभग स्थिर देखिएको छ। टेलिकमले समीक्षा अवधिमा ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको थियो। मुख्य सेवाबाट हुने आम्दानी स्थिर रहे पनि बैंक तथा वित्तीय क्षेत्रमा राखिएको निक्षेपबाट प्राप्त हुने वित्तीय आम्दानी बढेर ६८ करोड ६७ लाख रुपैयाँ पुग्दा कुल आम्दानीलाई सन्तुलनमा राख्न सहयोग पुगेको छ। यद्यपि, अन्य शीर्षकको आम्दानी भने घटेर ११ करोड २६ लाख रुपैयाँमा खुम्चिएको छ।
आम्दानीको पाटोमा दबाबकाबिच खर्च व्यवस्थापनमा मिश्रित चित्र देखिएको छ। समीक्षा अवधिमा कर्मचारी सेवा सुविधामा हुने खर्च बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन, मर्मतसम्भार तथा बजारीकरण खर्चमा पनि केही वृद्धि भएको छ। यद्यपि, सामान्य कार्यालय सञ्चालनतर्फ भने मितव्ययिता अपनाउँदै खर्च घटाएर २९ करोड ७४ लाख रुपैयाँमा झारिएको छ। १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा तथा सञ्चित कोष थप बलियो बन्दै ८४ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसले यस कम्पनीको बलियो वित्तीय आधारलाई थप उजागर गरेको छ।















