आस्थाको महापर्व छठको दोस्रो दिन आज ‘खरना’ मनाइँदै, साँझ खीर प्रसाद ग्रहण गरिँदै
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०८:१७
shares

सूर्यदेवको आराधना र उपासनासहित चार दिनसम्म विधिपूर्वक मनाइने महान् सांस्कृतिक पर्व ‘छठ’को दोस्रो दिन आज शनिबार ‘खरना’ विधिवत् रूपमा मनाइँदैछ। कठोर नियम र उच्च निष्ठाका साथ मनाइने यस पर्वमा आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझ चामल, सक्खर र दूध मिसाएर तयार पारिएको विशेष प्रकारको खीर प्रसादको रूपमा ग्रहण गर्ने चलन छ।
खरनाको यो प्रसाद परिवारका सदस्यहरूले मात्र नभई छरछिमेक र आफन्तहरूलाई समेत वितरण गर्ने गरिन्छ। हिजो शुक्रबार ‘नहाय–खाय’ विधिबाट औपचारिक रूपमा सुरु भएको यस पर्वअन्तर्गत भोलि आइतबार मुख्य दिन पर्न गएको छ। आइतबार साँझ नदी तथा पोखरी किनारका जलाशय घाटहरूमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ, जसलाई ‘सौझकारक’ भनिन्छ भने पर्सि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन हुनेछ।
यस पर्वमा बाँसका ढाकी, डग्री, माटोका कोसियाकुरबार, हाती लगायतका सांस्कृतिक सामग्रीहरूका साथै ठकुवा, भुसुवा, केरा, उखु तथा विभिन्न फलफूलहरू सूर्य देवता (दिनानाथ) लाई चढाउनका लागि सजाउने गरिन्छ। अर्घ्य अर्पण गर्ने ब्रतालुहरूले करिब ४८ घण्टासम्म निर्जल (पानी समेत नपिई) उपवास बस्नुपर्ने भएकाले छठलाई निकै कठिन र कठोर व्रत मानिन्छ। सरकारले छठ पर्वको अवसर पारेर सोमबार सार्वजनिक बिदा समेत दिएको छ।















