Dhulikhel Eco Banner new

सागर डिस्टिलरीको सञ्चालन आम्दानी ८५ प्रतिशत बढ्यो, सञ्चालन घाटाबाट नाफामा फर्कियो

546
shares

काठमाडौं, ३० कात्तिक। सागर डिस्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो व्यावसायिक कारोबारमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बिक्री आम्दानीमा उच्च वृद्धि हुनुका साथै सञ्चालन घाटालाई नाफामा परिणत गर्न सफल भएको छ।

कम्पनीको बिक्री आम्दानी बढ्नुमा नेप्से बुल्स र गभर्नर ब्रान्डका उत्पादनको बिक्रीमा भएको वृद्धि मुख्य कारण देखिएको छ। प्रिमियम ब्रान्डप्रति उपभोक्ताको आकर्षण र बजार विस्तारको रणनीतिले कम्पनीको व्यापारमा सकारात्मक प्रभाव पारेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८५.१ प्रतिशतले बढेर ११ करोड ९ लाख ८६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको खुद बिक्री आम्दानी ६३.२ प्रतिशतले वृद्धि भई ४ करोड ५० लाख ५९ हजार रुपैयाँ पुगेको छ। बिक्रीमा भएको वृद्धिसँगै कम्पनीको कुल मुनाफा पनि ५८.२ प्रतिशतले बढेर २ करोड ७४ लाख २३ हजार रुपैयाँ कायम भएको छ।

सञ्चालन घाटाबाट नाफामा

कम्पनीको व्यापारमा आएको सुधार सञ्चालन नतिजामा समेत देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४५ लाख ६८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ।

यसैगरी, कम्पनीको खुद नोक्सानीमा समेत उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीको नोक्सानी चालु आर्थिक वर्षमा ६७.९ प्रतिशतले घटेर ४९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ (सम्पत्ति पुनर्मूल्यांकनसहित) ११९ रुपैयाँ १५ पैसा र करेन्ट रेसियो २.१८ रहेको छ।

बजार विस्तारमा आक्रामक रणनीति

कम्पनीले टायर–२ (Tier-2) सहरहरूमा आफ्नो वितरण सञ्जाल विस्तारलाई तीव्रता दिएको जनाएको छ। प्रिमियम ब्रान्डमा केन्द्रित हुँदै लजिस्टिक्स तथा वितरकको क्षमता अभिवृद्धि गरेपछि खुद्रा पसलहरूमा उत्पादनको उपलब्धता सहज भएको र बजार हिस्सा विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ।

व्यवस्थापनका अनुसार बजारमा उत्पादनको पहुँच बढाउने, वितरण प्रणालीलाई प्रभावकारी बनाउने र निरन्तर बिक्री आदेश प्राप्त गर्ने रणनीतिले व्यापार विस्तारमा योगदान पुर्‍याएको छ।

आन्तरिक उपभोक्ता बजारमा रहेका सामान्य चुनौतीका बाबजुद बिक्री केन्द्रित आक्रामक बजार रणनीति अपनाउँदा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै कारोबारमा उल्लेख्य सुधार गर्न सफल भएको हो।