उपत्यकामा मंगलबारदेखि परीक्षण नगरिएको मासु बिक्रीमा रोक, अनुगमनका लागि २४० निरीक्षक परिचालन
वि.सं.२०८३ कात्तिक ३० सोमवार ११:०६
shares

काठमाडौं, ३० कात्तिक।काठमाडौं उपत्यकामा मंगलबारदेखि स्वास्थ्य परीक्षण नगरिएको मासु बिक्रीमा रोक लगाइने भएको छ। मासुको गुणस्तर, स्वच्छता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले अनिवार्य परीक्षण तथा अनुगमन व्यवस्था लागू गर्न लागेको हो।
यसका लागि सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा पशु चिकित्सकसहित २४० जना निरीक्षक परिचालन गरेको छ। उनीहरूले उपत्यकाका विभिन्न स्थानमा मासुको गुणस्तर तथा स्वच्छताको अनुगमन गर्नेछन्।
नयाँ व्यवस्थाअनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्नेछ। त्यसैगरी, वध गरिसकेपछि मासुको समेत परीक्षण गरी बिक्रीका लागि स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य परीक्षणबाट स्वीकृत नभएका पशु तथा मासु बिक्री गर्न पाइने छैन। सरकारले यस व्यवस्थामार्फत अस्वस्थ तथा गुणस्तरहीन मासुको बिक्री नियन्त्रण गर्दै उपभोक्तालाई सुरक्षित र स्वच्छ मासु उपलब्ध गराउने लक्ष्य राखेको छ।
















