Dhulikhel Eco Banner new

मंसिरमा नेपाल पूर्वाधार सम्मेलन, तीन दर्जन परियोजना लगानीका लागि प्रस्तुत गरिने

689
shares

काठमाडौं, ३० कात्तिक। पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना प्रस्तुत गर्ने र सम्भावित आयोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ।

नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको सम्मेलनको यस संस्करण नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो। लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय सहआयोजकका रूपमा रहेका छन्।

‘बिल्डिङ फर अ रेजिलियन्ट फ्युचर’ मूल नारासहित आयोजना हुने सम्मेलनको उद्देश्य बलियो, दिगो तथा उत्थानशील पूर्वाधार विकासमार्फत मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउनु रहेको छ।

सम्मेलनमा सरकारले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन भएका कानुनी, नीतिगत तथा संस्थागत सुधारबारे स्वदेशी र विदेशी लगानीकर्तालाई जानकारी गराउनेछ। विशेषगरी पूर्वाधार क्षेत्रमा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने आयोजकको लक्ष्य छ।

पूर्वाधार विकाससहित समग्र अर्थतन्त्रको विकासका लागि सरकारले नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण तयार गरिरहेको छ। यही विषयलाई केन्द्रमा राखेर सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन प्रमुख विषयमा विशेष प्रस्तुति र छलफल हुनेछन्।

पहिलो विषयमा ६९ वटा विधेयकमार्फत अघि बढाइएका कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरणबारे छलफल हुनेछ। दोस्रो विषयमा राष्ट्रिय पूर्वाधार खाकाको आधारभूत अवस्था, प्रस्तावित योजना र आगामी १० वर्षको दूरदृष्टि प्रस्तुत गरिनेछ। तेस्रो विषयमा भने लगानीकर्ताले अहिले भोगिरहेका र आगामी दिनमा सामना गर्न सक्ने समस्याको समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्र विकास गर्ने विषय समेटिनेछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ। ती छलफलमा स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, विषयविज्ञ र सरकारी निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

आयोजकका अनुसार हालसम्म २३ वटा लगानीयोग्य पूर्वाधार परियोजना पहिचान भइसकेका छन्। सम्मेलनको तयारीका क्रममा थप परियोजना पहिचान र छनोट गरी करिब तीन दर्जन आयोजना लगानीकर्तामाझ प्रस्तुत गरिनेछ। पहिचान भएका परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै सम्भावित आयोजनामा लगानी सम्झौता गर्ने लक्ष्य राखिएको छ।

प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले आफू मातहत भएका कानुनी तथा नीतिगत सुधार र पहिचान गरिएका लगानीयोग्य परियोजनाबारे जानकारी गराउनेछन्। यसबाट पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका चुनौतीबारे सरकार तथा निजी क्षेत्रबीच साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।

नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीयोग्य परियोजनाको पहिचान र प्रभावकारी कार्यान्वयनका साथै सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न सम्मेलन महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ।