सरकारले १० अर्बको १२ वर्षे विकास ऋणपत्र जारी गर्ने
वि.सं.२०८३ मंसिर २ बुधवार ०९:३३
624
shares
shares

काठमाडौँ — आन्तरिक ऋण परिचालनका लागि सरकारले १० अर्ब रुपैयाँ बराबरको १२ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९५’ (संकेत नम्बर एनपीडीबी १२००२०९५) बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
कार्यालयका अनुसार ऋणपत्र खरिदका लागि मंसिर २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ। बोलकबोल प्रक्रियाबाटै ब्याजदर निर्धारण हुने उक्त ऋणपत्र २०८३ मंसिर ३ गते निष्कासन गरिने जनाइएको छ।
यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नेपाली नागरिकले समेत लगानी गर्न पाउनेछन्। खरिदकर्ताले आर्जन गर्ने ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने यस ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने व्यवस्था छ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै सरकारले आन्तरिक स्रोत जुटाउन विभिन्न अवधिका ऋणपत्र प्रयोग गर्दै आएको छ। यसअघि ३, ५, ६, ९ र ११ वर्षे अवधिका विकास ऋणपत्रमार्फत आन्तरिक ऋण संकलन गरिसकेको सरकारले यसपटक १२ वर्षे दीर्घकालीन ऋणपत्र अघि सारेको हो।

















