आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई आइएमईले थप सुदृढ गर्ने
वि.सं.२०८३ मंसिर २ बुधवार १०:१३
shares

काठमाडौं, २ मंसिर । रेमिट्यान्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए ।
विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको नेटवर्क रहेको आइएमईले रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

रेमिट्यान्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्दै उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई अघि बढाउने अध्यक्ष ढकालको भनाइ छ ।
सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।
यसअघि पनि आइएमई पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ ।

















