माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, भ्रमण राष्ट्रकै हितमा केन्द्रीत हुने भनाई
वि.सं.२०७९ असार ३१ शुक्रवार १५:१८
shares

काठमाडौं ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तीन सदस्यीय टोलीसहित भारत गएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताएका छन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिएका थिए ।
अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र पछि पनि भएका भारत भ्रमणमा नेपालको पक्षमा नै निर्णय हरु लिएको र नेपाल भारतको सम्वन्धलार्य नै थप प्रगाढ बनाएको बताउँदै अहिलेको भ्रमण पनि त्यसैको निरन्तरतामा छलफल हुने बताए । प्रचण्डले यस बारेमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्र मन्त्रालयलगायतसँग छलफल र परामर्श गरेको जानकारी पनि प्रचण्डले दिए ।
प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको पनि बताए । ‘देख्नलाई यो भ्रमण आकस्मिक जस्तो देखियो,’ प्रचण्डले भने ‘तर, यो मेरा लागि यो भ्रमण आकस्मिक होइन।’ राजदूत विजयमोहन क्वात्रा भएको बेलामा उपयुक्त समयमा भारत भ्रमणमा आउने प्रतिवद्धता जनाएको थिएँ, प्रचण्डले भने ।
करिव डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएका थिए । अध्यक्ष प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका हुन् ।
अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कनु हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्डको भ्रमण टोलीमा स्वकीय सचिवद्वय गंगा दाहाल र रमेश मल्ल पनि रहेका छन् । चण्डले आफुले यस पछि छिट्टै चिनको पनि भ्रमण गर्ने बताएका छन् ।
प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’
प्रचण्डले दिल्लीमा बीजेपी अध्यक्ष नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । यसैगरी विदेशमन्त्री, बीजेपी विदेश विभाग प्रमुख डा। विजय चुथाईवालाले प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ । प्रचण्डले भोलि शनिबार नेपाल भारत सम्बन्धबारे आयोजित अन्तक्रिर्यालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

















