बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ११:१५
shares

काठमाडौं, ४ मंसिर । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार २८ दिनका लागि उक्त रकम संकलन गर्न लागिएको हो । यसका लागि मंसिर ४ गते दिउँसो २ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ । अधिकतम सीमा भने निष्कासन रकमको सीमाभित्र रही १० करोड रुपैयाँको गुणकमा राखिएको छ । तर, तोकिएको कुल रकमको सीमाभित्र रहेर संस्थाहरूले एकभन्दा बढी बोलकबोल पेस गर्न सक्नेछन् ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

















