Dhulikhel Eco Banner new

नागरिक एपमा एक महिनादेखि सेवा प्रभावित, लगइनदेखि विवरण प्रमाणीकरणसम्म समस्या

598
shares

काठमाडौं, ६ मंसिर । सरकारले डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै ‘डिजिटल नेपाल’को अवधारणा अघि बढाइरहेका बेला सरकारी सेवाको प्रमुख डिजिटल माध्यमका रूपमा रहेको नागरिक एप भने एक महिनाभन्दा बढी समयदेखि प्राविधिक समस्याले प्रभावित बनेको छ। एपमा देखिएको समस्याका कारण स्वदेश तथा विदेशमा रहेका लाखौं सेवाग्राही सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ।

पछिल्लो समय नागरिक एप आफैं लगआउट हुने र पुनः लगइन गर्न खोज्दा मोबाइलमा ओटीपी (वन टाइम पासवर्ड) नआउने समस्या देखिएको छ। ओटीपी प्राप्त भए पनि नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्र नम्बर तथा जन्ममिति प्रविष्ट गर्दा प्रणालीले ‘विवरण फेला परेन’ भन्ने सन्देश देखाउने गरेको सेवाग्राहीको गुनासो छ।

यही समस्याबाट प्रभावित सेवाग्राही नवराज ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले नागरिक एपलाई ‘हृदयाघात भएको’ टिप्पणी गर्दै झन्डै दुई महिनादेखि एप सञ्चालनमा समस्या रहेको, नागरिकता लिंक नभएको र लगइनसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको गुनासो गरेका छन्।

डिजिटल लाइसेन्सदेखि बैंकिङ सेवासम्म असर

नागरिक एपमा देखिएको समस्याले सवारी चालकलाई समेत प्रभावित बनाएको छ। नवीकरण गरिएका स्मार्ट लाइसेन्स छपाइ भएर सेवाग्राहीको हातमा नपुग्दासम्म एपमा उपलब्ध डिजिटल लाइसेन्स सवारी चालकका लागि मुख्य आधारका रूपमा प्रयोग हुँदै आएको थियो। तर, एपमा लगइन गर्न नसक्दा ट्राफिक जाँचलगायतका प्रयोजनमा समस्या भएको छ।

त्यस्तै, नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको विवरण लिंक नहुँदा एपमा उपलब्ध अन्य सरकारी सेवासमेत प्रभावित भएका छन्। बैंकमा खाता खोल्ने वा विवरण अद्यावधिक गर्ने क्रममा केही बैंकले अझै राष्ट्रिय परिचयपत्र माग्ने गरेका छन्। यस्तो अवस्थामा नागरिक एपमा लगइन गर्न नसक्दा सेवाग्राहीलाई आवश्यक विवरण प्राप्त गर्न कठिनाइ भएको छ।

विदेशमा रहेका नेपाली थप समस्यामा

नागरिक एपको समस्या विदेशमा रहेका नेपालीका लागि झन् जटिल बनेको छ। सामान्य प्रशासनिक कामका लागि समेत नेपाल आउनुपर्ने अवस्था विदेशमा रहेका नागरिकका लागि सहज हुँदैन। डिजिटल माध्यमबाटै सरकारी सेवा लिनुपर्ने अवस्थामा एप सञ्चालनमा नआउँदा उनीहरू थप समस्यामा परेका छन्।

सरकारी डिजिटल प्रणालीमा लामो समयदेखि समस्या देखिए पनि सम्बन्धित नियामक तथा प्राविधिक निकायले अहिलेसम्म आधिकारिक सूचना जारी गरेका छैनन्। समस्या के कारणले आएको हो र कहिलेसम्म समाधान हुन्छ भन्नेबारे पनि कुनै समयसीमा सार्वजनिक गरिएको छैन।

सरकारी कार्यालय धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल प्रणाली नै महिनौंसम्म प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागको कार्यक्षमतामाथि प्रश्न उठेको छ।

सेवाग्राहीले नागरिक एपमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गरी सेवा पूर्ववत् सञ्चालन गर्न तथा समस्याको कारण र समाधानको समयसीमाबारे स्पष्ट आधिकारिक जानकारी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।