सामाजिक सुरक्षा कोषमा योगदानकर्ता ३० लाख नाघे, सम्पत्ति पनि बढ्यो
वि.सं.२०८३ मंसिर ६ आइतवार १०:०६
shares

काठमाडौं, ६ मंसिर । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको सङ्ख्या ३० लाख ४७ हजार ४५० पुगेको छ। औपचारिक तथा अनौपचारिक क्षेत्र, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्दै कोषले आफ्नो दायरा विस्तार गरेको हो।
नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असार मसान्तसम्म कोषमा आबद्ध योगदानकर्तामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा रहेका श्रमिक छन्।
प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा रहेका २३ लाख २८ हजार ९३७ जना कोषमा आबद्ध छन्। त्यस्तै, औपचारिक क्षेत्रका ७ लाख १६ हजार १६८, स्वरोजगार क्षेत्रका १ हजार २१७ र अनौपचारिक क्षेत्रका १ हजार १२८ जना योगदानकर्ता रहेका छन्।
यसैबीच, सामाजिक सुरक्षा कोषको कुल सम्पत्ति तथा दायित्व २४ प्रतिशतले वृद्धि भएको छ। वृद्धि भएसँगै २०८३ असार मसान्तसम्म कोषको कुल सम्पत्ति तथा दायित्व १ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

















