टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका संस्थालाई २५ मोटरसाइकल हस्तान्तरण
वि.सं.२०८३ मंसिर ८ मंगलवार १०:५९
shares

काठमाडौं, ८ मंसिर । टीभीएस मोटर कम्पनी र नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन्।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार मोटरसाइकल प्राप्त गर्ने संस्थामा जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवा, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, त्रिशूली अस्पताल, विभिन्न विद्यालय, गाउँपालिका तथा स्वास्थ्य चौकी रहेका छन्।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई पाँच–पाँचवटा प्रदान गरिएको छ। त्यस्तै, नुवाकोट केन्द्रीय कारागारलाई एउटा, विदुर नगरपालिकालाई दुईवटा र त्रिशूली अस्पताललाई एउटा मोटरसाइकल उपलब्ध गराइएको छ।
यसैगरी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई एक–एकवटा मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो कार्यक्रम नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रका सरकारी तथा स्थानीय संस्थालाई लक्षित गरी सञ्चालन गरिएको हो।
टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै स्थानीय समुदायसँग सम्बन्धित संस्थाहरूलाई सहयोग गर्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको बताएका छन्।
शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरकका रूपमा कार्यरत छ।

















