Dhulikhel Eco Banner new

सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट निर्धारण हुने

949
shares

काठमाडौं, ९ मंसिर । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्रको कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ। यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली प्रयोग गर्नुपर्नेछ।

कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ।

प्रतिस्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। अप्रतिस्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ। उनीहरूलाई प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ।

ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ। यसको साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ। ऋणपत्रमा प्राप्त हुने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने ब्याजमा प्रचलित व्यवस्थाअनुसार आयकर लाग्नेछ।

ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ तोकिएको छ। खरिद गर्न चाहेको रकम पाँच लाख रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले प्रस्ताव गरेको रकमको २.५० प्रतिशत बराबरको धरौटी (अनेस्ट मनी) जम्मा गर्नुपर्ने व्यवस्था छ।

कार्यालयका अनुसार उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ। साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएसमार्फत गर्न सकिनेछ।