वन मन्त्री यादवको प्रतिबद्धता पूरा, लामो समयदेखि अड्किएको विद्युत जडानको काम अघि बढ्यो
वि.सं.२०७९ साउन १९ बिहीवार १०:५०
shares

काठमाडौँ, १९ साउन । पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने भएको छ ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएकाले यो कार्य तीव्र रुपमा अघि बढाएका हुन् ।
मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ के.भि. क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्वीकृत गरेका छन् ।
मन्त्री प्रदीप यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको छ ।
यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि उक्त समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए । तर, कुनैपनि सरकारले उनीहरुको समस्या समाधान गर्न अग्रसरता देखाएका थिएनन् । यद्दपी, मन्त्री नियूक्त भएपश्चात उद्योगीहरुलाई उक्त समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार उनले उक्त समास्याको समाधान गरेका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म करिब ४ हजार ८ सय ३० मीटर लम्बाईको ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएपछि बारा पर्साका उद्योगीहरुको माग पनि पूरा भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए ।
मन्त्री यादवका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पेश भएका सम्पुर्ण शर्तहरुको पालना हुने गरी प्रसारण लाईन जडान हुनेछ ।















