विद्यालय खुले पनि पठनपाठनमा अन्योल
वि.सं.२०७९ साउन २२ आइतवार १५:३४
shares

काठमाौं, २२ साउन । महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रबार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेपछि अहिले यहाँ तनाव बढेको छ । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठवटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएका छन् ।
अन्यमध्ये कतिपयमा कक्षा पाँच कक्षासम्म र कतिपय भर्खरै कक्षा थप गर्दै लाने प्रक्रियामा छन् । विद्यालय र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि २०७७ चैत २७ गते प्रक्रिया थालेर नगरपालिकाले गतवर्ष भदौ एक गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेर व्यवस्थापन गरेको थियो । अहिले तिनै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनले जनाएका हुन् । गतवर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि निमावि, १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भएमध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो ।
अहिले एक्कासि यी शिक्षकलाई हाजिर नगराउन आएको परिपत्रले शैक्षिक अराजकता बढाएको नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव तथा बर्दिबास–६ स्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउछन् ।यसपालिको स्थानीयतह निर्वाचनमा विजयी जनप्रतिनिधिले एक वर्ष पहिले सबै प्रक्रिया पूरा गरेर खुला प्रतिस्पर्धाबाट नियुक्त नगर शिक्षकलाई पूर्वाग्रहका आधारमा हाजिर नगराउन परिपत्र गरेको शिक्षकसम्बद्ध विभिन्न सङ्घ, सङ्गठनले बताएका छन् ।
अर्को स्थायी पदपूर्ति नहोउञ्जेल काममा लगाइरहनु पर्ने नगर शिक्षकलाई वैकल्पिक व्यवस्था नगरी काममा जान रोक लगाइँदा शैक्षिक संस्थामा खुल्लमखुल्ला हस्तक्षेप बढेको शिक्षकसम्बद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ, सङ्गठनले विज्ञप्ति नै जारी गरी नगर नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बर्दिबास नगर समितिका अध्यक्ष नेत्र रम्तेल भनछन् , “यसलाई तत्काल नसच्याइए पठनपाठनमा हुने अस्तव्यस्तताको सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको कार्यालय र नगर नेतृत्व हुनेछ ।”
यता नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश दाहाल नगर कार्यपालिकाले नगर शिक्षकको म्याद थप नगरेपछि परिपत्र गर्नाको विकल्प नरहेको बताए । “मैले लहडमा हाजिर नगराउनु भन्ने परिपत्र त गरेको हैन नि १” उनि सञ्चारकर्मीको जिज्ञासामा भनछन्, “सबै कुरा कार्यालयको अनुशासन र मर्यादाभित्र रहेर आदेश अनुसार गरिएका हुन् ।”यसअघि नयाँ आर्थिक वर्षको प्रारम्भमै नगर कार्यपालिका र वडा कार्यालयमा करारमा कार्यरत कर्मचारीको म्याद नथपिने जनाएको कार्यालयले अहिले गर्मी बिदापछि विद्यालय खुल्नुपूर्व नगर शिक्षकमाथि पनि लफडा बढाएकोे यहाँका शिक्षाविद् बताउँछन् ।
नयाँ नगर नेतृत्वले करारका कर्मचारीको म्याद नथप्दा अहिले अधिकांश वडा कार्यालयमा जनशक्तिको अभावले काम ठप्प छ । “म सम्पत्ति कर तिर्न वडा कार्यालयमा कैयौँ पटक पुगेँ, तर कर असूली शाखाका कर्मचारी नहुँदा त्यत्तिकै घर फर्केको छु” बर्दिबास–२ का सेवाग्राही शोभा उपाध्याय भनछन्, “कार्यालयमा काम नभएर सर्वसाधारण घर फर्कने स्थिति त हुनुभएन नि १”
करारका कर्मचारीको प्रबन्धबिना नै पुरानालाई विस्थापन गरिँदा कार्यालयका काम अल्झेकै बीच अब विद्यालयमा पठनपाठनमा पनि समस्या हुने देखिएको छ । विद्यालयको हकमा त शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनले परिपत्रविरुद्ध थप आन्दोलनका कार्यक्रम गर्ने सङ्केत गरेका छन् । “हामी सबै शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनका प्रतिनिधि बस्दैछौ, अनि परिपत्रको निकासबारे संस्थागत धारणा बन्छ”नेपाल शिक्षक महासङ्घ बर्दिबास नगर समितिका अध्यक्ष सुनकुमार स्याङ्तान बताउछन् ।यसैबीच नगरका वुद्धिजीवी र शिक्षाविद्हरुले विद्यालयको अवस्था बिग्रन नदिन नगर नेतृत्व, नगर कार्यपालिकाको कार्यालय र सम्बद्ध शिक्षक सङ्घ, सङ्गठन र आम नगरवासीमा तत्काल पहल गर्न आग्रह गरेका छन् ।















