Dhulikhel Eco Banner new

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु  : वनमन्त्री यादव

4.97K
shares

काठमाडौँ, २३ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहोर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताएका हुन् ।

“प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन्,” मन्त्री यादवले भने।

मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराएका छन्। यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए ।

त्यसैगरी उनले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी गराए । प्रतिबन्धले प्रदूषण नियूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले जानकारी दिए ।

यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको बताएका छन्। “वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागी परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ,” उनले भने ।

मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व वैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।