सहकारीको खेती हेर्न आन्तरिक पर्यटकको आकर्षण
वि.सं.२०७९ भदौ १६ बिहीवार १४:४९
shares

काठमाडौं, १६ भदौं । मुलुककै नमूनाका रुपमा रहेको नमूना एकीकृत सहकारी खेती प्रति पर्यटकको आकर्षण बढेको छ । महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको यो खेती अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।
एकीकृत खेतीका व्यवस्थापक अर्जुन खतिवडाका अनुसार सहकारी संस्थासँगै अन्य समूहहरू पनि खेती अवलोकनका लागि आउने गरेका छन् । सरकारले कृषि पर्यटनका लागि सूचीकृत गरेको यो स्थानमा आउने पर्यटकलाई बसाउनका लागि पाहुना घरसमेत निर्माण गरिएको छ ।
एकीकृत खेतीका अध्यक्ष वेदनिधि चापागाईँले भने, “७२ परिवारको ८० बिघा जग्गामा हामी खेती गर्दै आएका छौँ । त्यसमा बर्सेनि धानवापत बिघाको ३२ मनदेखि ४० मनसम्म धान जग्गाधनीले पाउने छन् । अनि खेतीको काममा सहयोग गरे भने घण्टाको रु ५० समेत श्रमवापतको रकम पाउँछन् ।”
नमूना खेतीको सुरुआत गर्ने महारानीझोडा साना किसान सहकारी संस्थाका अध्यक्ष मीना ढकालका अनुसार यो काम सुरु गर्न सुरुआती चरणमा धेरै अप्ठेरो परेको थियो । अहिले त सबैतिरका जग्गाधनी आएर जग्गा लिइदिन अनुरोध गर्न थालेका छन्”, उनले सुनायो, “अब हामीले चौघेराभित्रको ८० बिघा जग्गा लिएका छौँ, यसलाई नै व्यवस्थित गर्दै लैजाने छौँ ।
खेतीका व्यवस्थापक अर्जुन खतिवडाले खेतीमा सदस्य बन्नका लागि न्यूनतम एक कठ्ठा जमिनदेखि तीन बिघासम्म किसानको लिइएको बताए । सबै अहिलेसम्म सन्तुष्ट नै छन्, उनले सुनाए, कसैले त भएको सबै जग्गा नराखी खेतीलाई नै दिएका छन् । धानखेतीचाहिँ महारानीझोडा–५ को मैदानघोपा र चिउरा मिलमा एक सय ५० बिघमा खेती गरिएको छ ।
प्रारम्भिक चरणमा खेतको उपचारका लागि २१ मेट्रिक टन कृषि चुन उपयोग भएको छ । “समूहमा खेती गर्न थालेपछि जोत्ने, रोप्ने, काट्ने, झार्नेलगायतका काम मेसिनबाट हुने गरेका छन्, अधिकाशं काम भने प्रविधिको प्रयोगबाटै गरिएको छ”, खतिवडाले भने, “त्यसमा मानिसले भने सहयोगी भूमिका निर्वाह गर्छन्, खेतीको मुख्य उत्पादन भने धान नै हो ।”
नमूना खेतीलाई मुलुककै नमूना बनाउने प्रणमा लागेका छन्, स्थानीयहरु । मुलुकमा कार्यकारी प्रमुखसहित अन्य नेताले समेत यसलाई प्रशंसा गरेका छन्, उनले भने, “हामी नमूना पर्यटकीय केन्द्र र नमूना खेती बनाउने प्रणमा छौँ । नमूना खेतीमा प्रशोधन, बिक्री वितरणको कामसमेत गरिने छ ।
सहकारी खेतीका व्यवस्थापक खतिवडाले भने “ पाहुनाघर निर्माणसँगै अध्ययन अवलोकन गर्न आउनेसँगै कार्यक्रम गर्नका लागि सहज बनेको छ । ”विसं २०५५ मा साना किसान परियोजनाको नाममा सुरु भएको यो संस्था २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो ।









