Dhulikhel Eco Banner new

टानको नवनिर्वाचित कार्यसमितिले गरे पदभार ग्रहण

5.97K
shares

काठमाडौं, १९ भदौ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेका छन् ।

गत साउन ३० गते सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले होटल र्याडिशनमा एक कार्यक्रम गर्दै नेतृत्व हस्तान्तरण गरेका हुन् ।

टानको निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष नीलहरी बास्तोलालाई कार्यालयको चाबी बुझाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष बास्तोलालाई कार्यकालको सफलताको शुभकामना दिदै सुवेदीले टानले आगामी दिनमा गर्ने गतिविधिहरूमा आफ्नो निरन्तर सहभागिता रहने बताएका छन् ।

बास्तोला आफ्नो प्यानलसहित निर्वाचित भएका थिए । विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए ।

सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

बास्तोलाको एसियन हेरिटेज गुप्र अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनले एसियन हेरिटेज फाउन्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका छन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष बास्तोलाले टानलाई नयाँ उचाइमा पु¥याउन आफू लागिपर्ने बताएका छन् । उनले टानभित्र रहेका समस्याहरूको समाधान गर्दै यसलाई पर्यटन व्यावसायीमैत्री बनाउने र पर्वतीय पर्यटनको विकासका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सह–कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए ।

सदस्यहरूमा महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका थिए ।

सम्मानित हुन पत्रकारहरु राष्ट्रिय आर्थिक मासिकका प्रकाशक सम्पादक पुस्कर बस्नेत, बिबिसि न्यूज सेन्टरका सम्पादक छिरिङ लामा, योहो टेलिभिजनका म्यानेजर शारदा थापा, नेपाल नेटवर्क टेलिभिजनका बिजनेश न्यूज को–अडिनेटर हरिशरण न्यौपाने, बिजपार्टी डट कमका सम्माददाता निरज कुमार थापा, पर्यटन बजारका कार्यकारी सम्पादक बिनयस शिवाकोटीलगायत सम्मानित भएका छन् ।

सम्मानित व्यत्तित्वलाई प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन संस्कृति मन्त्रालयका सचिव र टानका अध्यक्ष खुमबहादुर सुवेदीले खादा र प्रमाणपत्र वितरण गरेका थिए । टानलाई माया गर्ने विभिन्न संघसंस्थाको प्रतिनिधिहरु र टानका पूर्व अध्यक्षहरुलाई समेत मायाको चिनो प्रदान गरेको थियो ।