Dhulikhel Eco Banner new

नलिञ्चोकमा हेलिप्याड निर्माणमा स्थानीयवासीको अवरोध, बस्ती र विद्यालयलाई असर पर्ने भन्दै विरोध

6.34K
shares

काठमाडौं, २८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

आफूहरूसँग कुनै सरोकारनै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेको भन्दै आज जोरपाटी माध्यमिक विद्यालयको पुरोना भवनमा भेला भएका स्थानीयवासीले विरोध जनाएका हुन् । हेलिकोप्टर उडानलाई सूर्यविनायक नगरपालिका–१० नलिञ्चोक हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण कार्य सुरु गरेपछि सूर्यविनायक वडा नं ९ र १० का बासिन्दा विरोधमा उत्रिएका हुन् ।

भेलामा स्थानीयवासी मुरारी नगरकोटीले भने,“मानव बस्तीको बीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनि प्रदूषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले विरोध गरेका हुन् ।” गहिरो ठाउँमा रहेको र वरिपरि पहाड तथा अग्ला संरचना रहेकाले दुर्घटनाको समेत जोखिम रहेकोउनले बताए ।

स्थानीयवासी विक्रम थापाले मानव बस्तीको बीचमा मानवीय संवेदनाको बेवास्ता गर्दै आफूहरूसँग कुनै सल्लाह एवं सुझाव सङ्कलनसमेत नगरी हेलिप्याड निर्माण गर्न लागेकोमा आफूहरूको आपत्ति रहेको बताए । “यत्रो निर्णय गर्दा प्राधिकरणले स्थानीय निकाय र यहाँका बासिन्दासँग छलफल गर्नुपथ्र्यो, त्यो भएन, सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नु पथ्र्यो, त्यो गरेन”, उनले भने, “यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौवटा विद्यालय सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीको पढाइमा प्रभाव पर्छ, स्थानीयवासीलाई बेवास्ता गर्दै जबर्जस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनाँै ।”

प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो । आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडानसमेत यहीँबाट गर्ने गरी प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो ।

प्राधिकरणले आगामी वर्षमा नै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनी एयरपोर्ट’ का रूपमा काम अगाडि बढाएको छ । हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरी हेलिप्याड निर्माण प्रारम्भ गरिएको हो ।

स्थानीयवासी पशुपति खत्रीले सरकारकै नियम मिचेर सुरु गरेको हेलिप्याड निर्माण प्रक्रिया नरोके स्थानीयवासी प्रतिवादमा उत्रिने बताए । उनले भने, “प्राधिकरणले निर्माणका लागि डोजर ल्याएपछि मात्रै स्थानीयवासीले हेलिप्याड बन्दैछ भन्ने थाहा पाए, स्थानीय जनतालाई बाधा पर्ने गरी कुनै पनि निर्माण गर्न नपाइने सरकारकै नियम छ, त्यो नियमलाई प्राधिकरणले कसरी मिच्छ, निर्माण नरोके पाँच सयको हस्ताक्षर लिएर सर्वोच्चमा रिट हाल्छौँ ।”