दशैँको टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १७:५२
shares

काठमाडौं, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टिकाको दिन दिनभरिनै टिका ग्रहण गर्न सकिने भए पनि उत्तम साइत खोज्नेहरुका लागि ११ बजेर ५१ मिनेट उत्तम रहेको समितिले जनाएको हो ।
टिकाको दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।
असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । यस वर्ष असोज १० गते सोमवारदेखि नवरात्रा आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ ।


















