Dhulikhel Eco Banner new

युएईको भिसा नीति संशोधन, पर्यटक भिसाको म्याद ६० दिन

5.43K
shares

काठमाडौं, १८ असोज । संयुक्त अरब इमिरेट्स (युएई)ले नयाँ भिसा नीतिलाई जारी गरेको छ । युएईको यसअघिको भिसा नीतिमा भएको संशोधन सोमबार (३ अक्टोबर)बाट लागु गरेको हो ।

नयाँ अध्यागमन प्रणालीअन्तर्गत सो संशोधन गत महिना गरिएको थियो । लागु भएको नयाँ भिसा नीतिअनुसार युएईमा पर्यटकसँगै पेशाकर्मीहरुले पनि लामो समयसम्म बस्न पाउने व्यवस्था गरिएको छ । उद्यमी र पेशाकर्मी लागि विशेषगरि यो भिसा नीतिमा परिवर्तन गरिएको छ । नयाँ भिसा नीतिमा १० वर्षको ‘गोल्डेन भिसा’ कार्यक्रम राखिएको छ । गोल्डेन भिसा युएईमा बस्ने विदेशी उद्यमी, अनुसन्धाता, चिकित्सकिय पेशाकर्मी, विज्ञान वा अन्य क्षेत्रमा काम गर्ने विशेषज्ञ, प्रतिभाशाली विद्यार्थीलगायतलाई दिइनेछ ।

नयाँ भीसा नीतिअन्तर्गत रहेको ‘ग्रीन भिसा’ आप्रवासीहरुका लागि रहेको छ । यो भिसा लिएर युएई पुगेका आप्रवासीहरुले त्यहाँ पाँच वर्षसम्म बस्न पाउनेछन् । सँगै यसलाई पुनः नविकरण पनि गर्न सकिनेछ । यो भिसा सेल्फ स्पोन्सर्ड भिसा हो । अर्थात यो भिसा युएईका नागरिक, नियोक्ता वा युएईकै कसैले स्पोन्सर्ड गर्नु पर्दैन् । यो भिसा युएई आउन चाहने पेशाकर्मी, श्रमीक वा अरु कसैले पनि लिन पाउनेछन् ।

आमाबुबाले आफ्ना सन्तालाई २५ वर्षसम्म त्यहाँ राख्न पाउनेछन् । यसअघि यो व्यवस्था १८ वर्षसम्म थियो । अविवाहित छोरी वा अपांग सन्तानको हकमा भने यो उमेरहद लागु हुने छैन । ग्रिन भिसा भएकाहरुको रेसिडेन्स समय सकिएपछि उनीहरुलाई ६ महिनाको ग्रेस समय दिइनेछ । यो ६ महिना पनि उनीहरु युएईमा बस्न पाउनेछन् । युएईमा राम्रो प्रतिभालाई आकर्षिक गर्नका लागि सन् २०२० मा यो भिसाको सुरुवात गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार गोल्डेन भिसा भएकाहरुले आफ्ना जीवनसाथी वा कुनै पनि उमेरका सन्तालाई स्पोन्सर गर्न पाउनेछन् । यदि गोल्डेन भिसा भएका व्यक्तिहरुको मृत्यु भइहालेमा पनि उनीहरुले स्पोन्सर गरेर युएई आएका उनीहरुका आफन्त वा परिवारले भिसाको अवधी रहँदासम्म त्यहाँ बस्न पाउनेछन् ।

यसअघि यस्ता पेशाकर्मी तथा उद्यमीहरुका लागि यो भिसा लिन ५० हजार एइडी (डिराम) भन्दा धेरै आम्दानी हुनुपर्ने आवश्यकता थियो । तर, अहिले त्यसलाई घटाएर ३० हजार डिराम बनाइएको छ । त्यस्तै, पर्यटकहरुका लागि यसअघि ३० दिनसम्म बस्न पाउने व्यवस्थालाई अहिले परिवर्तन गरेर ६० दिन बनाइएको छ । सँगै पर्यटकहरुका लागि पाँच वर्षसम्म पटक पटक जान पाइने भिसाको पनि सुरुवात गरिएको छ ।