मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्नु अनुरोध
वि.सं.२०७९ असोज २० बिहीवार १७:३४
shares

काठमाडौं, २० असोज । हिमाली जिल्ला मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो ।
हिमपात भएपछि स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधवार रातिदेखि हिमपात भएको जानकारी दिए । ‘बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ’, उनले भने । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो बढेको उनको भनाइ छ ।
हिउँ परेसँग चिसो बढेकाले अहिले स्थानीहरु आगो तापेर बसिरहेको अध्यक्ष लामाले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताएका छन् । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा बाह्य पर्यटक रहेको गौतमको भनाइ छ ।
थोराङ्ला पास (५४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेस क्याम्प), हाइ क्याम्पलगायतका ठाउँमा डेढ सय जना पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल (४९१९ मि) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेस क्याम्पलगायतका ठाउँमा पनि पर्यटक रहेका छन् । ‘हिमपात र वर्षाका कारण पहिरोको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोवास गरिएको छ त्यही ठाउँमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले बताए ।
नार्पाभूमि गाउँपालिकाको मेता (३५६० मि) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको बताइएको छ । सदरमुकाम चामे नजिकैका डाँडाकाँडामा हिमपात भएको बताइएको छ ।

















