एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:०९
shares

काठमाडौं, १५ कात्तिक । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो ।
कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । “विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे”, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भनिन्, “उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।”
समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझिन। अनि आफूलाई के–के हुन्छ भनेर पनि सोधिन। विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उनको भनाइ छ ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ ।



















