Dhulikhel Eco Banner new

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

4.69K
shares

काठमाडौं, १५ कात्तिक । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन जिडीपी पु¥याउने दाबी गर्दै नेकपा एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ ।

पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुु¥याउने लक्ष्य समेत सो दलले राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज यहाँ सार्वजनिक गरेको घोषणापत्रमा प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र आगामी पाँच वर्षभित्र त्यसलाई दुई अङ्कमा पु¥याउने लक्ष्य राखिएको छ । नेपाली अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाउने सो दलले उल्लेख गरेको छ ।

उद्योग व्यवसाय दर्ताका लागि आवेदन परेको सात दिनभित्रै स्वीकृति दिने, स्वीकृति दिन नसकिने भए कारण खोली त्यसको जानकारी दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ । कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने उल्लेख गरेको सो दलले सार्वजनिक, सहकारी, निजीलगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ ।

राष्ट्रिय बचत वृद्धि गरी लगानीको दायरा विस्तार गर्ने र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गर्ने, ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने, प्राकृतिक स्रोत, साधन, पूँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गर्दै जिडिपीमा प्रदेशको योगदानमा रहेको असन्तुलन घटाउने नीति अबलम्वन गर्ने लक्ष्य राखेको छ ।

‘दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर’ भन्ने नारा तय गरेको सो पार्टीले समातामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार पार्ने र नेपाली अर्थतन्त्रको विस्तार गर्ने विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।