Dhulikhel Eco Banner new

बैंकिङ प्रणाली मार्फत नरैनापुरमा भत्ता वितरण सुरु

3.87K
shares

काठमाडौं, १९ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बैंकका म्यानेजर दिपक राज अधिकारीले जानकारी दिए ।

बैंक परिसरमा आयोजित कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय ६८ बर्षिय इमामीन सार्ईलाई सानराईज बैंक मार्फत नगद रकम हस्तान्तरण गरेर सेवाको सुभारम्भ गरेका थिए ।

जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका नरैनापुरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सामान्य समस्या रहे पनि रकम हिनामिना हुनबाट जोगिएको नरैनापुर ४ का ७४ वर्षीय प्यारे अहिरले बताए ।

नरैनापुर गाँउपालिकाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकले पाउने पैसामा अनियमितता भएको देखेपछि बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । हाल यस नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ३ सय ७७ जना छन् ।

भत्ता वितरण कार्यक्रममा नरैनापुर गाँउपाकिाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, कार्यपालिका सदस्य सन्तोष श्रीवस्ताव लगायतको सहभागिता रहेको थियो ।