होमस्टेबाट जीविकोपार्जनमा सहयोग
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १७:५३
shares

काठमाडौं, २३ मंसिर । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो ।
यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढेको हो । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन लागेको छ ।
होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्कका कान्छी तामाङले बताए ।
उनका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुगछन् । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अग्र्यानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने उनको भनाइ छ ।
विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको उनले बताए । होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङले बताए ।
विश्वको नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ ।
पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।
गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ ।

















