प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १८:०२
shares

काठमाडौं, २३ मंसिर । जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट जिजीपीअन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो ।
प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवद्र्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे । उनले यो परियोजना उद्योग प्रवद्र्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पु¥याउने उल्लेख गरे ।
बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्युठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताए । परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

















