Dhulikhel Eco Banner new

प्राधिकरणले जुम्लामा १५० मेगावाट क्षमताको जवा तिला आयोजना निर्माण गर्ने

7.12K
shares

काठमाडौं, ७ पुस । कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक–पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् ।

यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै एक सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि रु २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो ।

जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए ।

उहाँको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरणको गत मङ्सिर २१ गतेको सञ्चालक समितिको बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ । तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा एक सय मेगावाट र पूर्ण क्षमतामा जाँदा एक सय ५० मेगावाट बराबर रहनेछ ।

प्रारम्भिक अनुमानमा आयोजनाको कूल लागत रु ३५ अर्ब बराबर रहनेछ । क्षमता तलमाथि हुँदा लागतमा पनि तलमाथि नै हुनसक्ने उनको भनाइ छ । जुम्लाको तिला गाउँपालिकामा आयोजनास्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ ।

प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्रलगायतको प्रक्रियामा अगाडि बढिसकेको छ । “आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ” पूर्वमन्त्री भण्डारीले भने, “जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै गराउने छैन । मुलुकका लागि विजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।”