ग्लोबल आईएमई बैंकको कारोबार दुई दिन बन्द, सोमबारदेखि एकीकृत कारोबार
वि.सं.२०७९ पुस २३ शनिवार १०:५५
shares

काठमाडौं, २३ पुस । एकीकृत कारोबारका लागि डाटा माइग्रेसनको कार्य गर्नका लागि ग्लोबल आईएमई बैंकको कारोबार दुई दिन बन्द हुने भएको छ । बैंक अफ काठमाण्डूसँग मर्जर पश्चात सोमबार देखि संयुक्त कारोबारको तयारीका लागि बैंकले आज शनिबार र भोलि आइतबार कारोबार बन्द हुने जानकारी दिएको हो ।
दुबै बैंकले मर्जर सम्बन्धी प्रस्ताव साधारणसभाबाट पारित भइसकेका छन् भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ । संयुक्त कारोबारका लागि डाटाको काम गर्नका लागि कारोबा बन्द रहेको भए पनि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड र एटीएम तथा एजेण्टमार्फत हुने रेमिट्यान्स सेवा भने यतावत रहने जनाइएको छ ।
दुई बैंक मर्ज भएर बन्ने बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेका सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक हुनेछ ।

















