दाङमा माघीको रौनक बढ्यो
वि.सं.२०७९ पुस २३ शनिवार ११:१३
shares

काठमाडौं, २३ पुस । थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् ।
अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् ।
यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर र्याली निकालिएको थियो । सो र्यालीले घोराही बजार परिक्रमा गरेको थियो ।
‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती र्यालीमा देखिन्थे । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गरेका थिए । आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी बताएका छन् ।
त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ ।
यता तुलसीपुरमा पनि माघी मिलनको कार्यक्रम राख्ने तयारी गरिरहेको तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय मैतु चौधरीले बताए । उनले माघ २५ गतेदेखि माघी विशेष कार्यक्रम राख्ने गरी तयारी गरेको बताएका छन् ।
शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो । युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे ।
घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे । त्यस्तै माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारु बस्तीमा देखिएको हो ।
माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन दाङका अधिकांश थारु बस्ती सबैमा बढेको छ । केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन् । माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ६५ वर्षीया देशनी चौधरीले बताए ।
उनले भने, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी हुँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका अन्य तयारी दुई हप्ता अगाडिबाट नै सुरु गरिन्छ ।”
आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी ४५ वर्षीया कृष्णी चौधरीले भनिन्, “माघीका लागि आवश्यक पर्ने दुनाटपरी बनाउँदै गरेकी छु । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले आवश्यक परिकार बनाउन लागेकी हुँ ।” तुलसीपुर उपमहानरपालिका–६ को रजौरा बस्ती वडा नं १२ को कपडादेबिमा मात्र होइन यहाँका अन्य थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ चन्द्रगञ्जकी ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त थिइन् । आफ्ना बुहारीहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा विभिन्न प्रकारका खानेकुरा खानको लागि सालका पातको दुनाटपरी बनाउन लागेको बताउछिन् ।

















