Dhulikhel Eco Banner new

सुपर मादी हाइड्रोपावरले माघ ९ गतेबाट आईपीओ जारी गर्दै

4.76K
shares

काठमाडौं, २८ पुस । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रू. २१ करोड बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

अब बाँकी रहेको शेयरबाट पनि ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

कम्पनीको सार्वजनिक निष्काशनमार्फत बिक्री गरिने आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ विक्रीका लागि छिटोमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २३ गतेसम्म बिक्री लम्बिनेछ ।

तर सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।