मनास्लु पब्लिक स्कुलले मनायो २२ औँ अभिभावक तथा स्थापना दिवस
वि.सं.२०७९ माघ २८ शनिवार १७:५२
shares

काठमाडौं, २८ माघ । काठमाडौंको नयाँ बजारमा रहेको मनास्लु पब्लिक सेकेण्डरी स्कुलले आफ्नो २२ औँ वार्षिकोत्सव तथा अभिभावक तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद्हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा. लव देव अवस्थीले विद्यालय शिक्षाको स्तर उन्नतिमा मनास्लु पब्लिक मा.वि ले उल्लेखनीय भूमिका खेलेकोे बताए । साथै विद्यालयले आगामी दिनमा पनि युग सुहाउँदो ज्ञान र सीपमूलक शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
अभिभावक र शिक्षकको मेहनतले विद्यालय यो अवस्थामा आइपुगेको विद्यालयका प्रधानाध्यापक सुचिता शाक्यले बताइन । विद्यालयले निरन्तर रुपमा सैद्धान्तिकसँगै व्यवहारीक सिपलाई पनि ध्यान दिइरहेको उनको भनाइ छ । ‘अभिभावकको निरन्तरको सहयोगले विद्यालय यो अवस्था पुगेको छ, अझै पनि अभिभावकको साथ र सहयोगको सधैँ अपेक्षा गर्दछौँ,’ उनले भनिन् । अभिभावकको विश्वासले नै विद्यालयले सफलता हासिल गरेको उनको भनाइ थियो ।

शिक्षक विद्यार्थी र अभिभावकको निरन्तरको मेहनेतले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको उनको भनाइ थियो । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्नका लागि विद्यालय प्रतिवद्ध रहेको उनले बताइन् । उनका अनुसार अहिले विद्यालयमा ८०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तै शिक्षक अविभावक संघका अध्यक्ष विष्णु काप्रीले सक्षम युवा उत्पादनमा विद्यालयले जोड दिनु पर्ने धारणा व्यक्त गरे । ‘हरेक क्षेत्रमा उत्कृष्ट विद्यार्थी उत्पादन गर्नुहोस्, त्यसका लागि अभिभावकका तर्फबाट हामीले गर्नु पर्ने सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘मनास्लुमा अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा अब्बल भएको खण्डमा विद्यालयले विज्ञापन गर्नु पर्दैन । स्वतः विद्यालयको विज्ञापन हुन्छ ।’

अभिभावकले आफ्नो बच्चा हरेक क्षेत्रमा उत्कृष्ट होस् भन्ने चाहेकाले विद्यालयले पनि यो विषयलाई ध्यान दिनु पर्ने उनको सुझाव थियो । युग सुहाउँदो शिक्षाको खाँचो रहेको भन्दै विद्यालयले त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । ‘विद्यालयले गर्ने हरेक क्रियाकलापलाई अभिभावकले हेरिरहेका छन्, राम्रो शिक्षा दिन सक्नु पर्छ जसले विद्यार्थी र अभिभावकको मन जित्न सक्छ,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सवनम भट्टले कायक्रमलाई विशेष सम्बोधन गरेकी थिइन् । कार्यक्रममा विद्यालयकी प्राचार्य सुचिता शाक्यले मनास्लु एजुकेशनल इन्ष्टिच्यूट प्रा.लि का अध्यक्ष हरि प्रसाद भट्टबाट प्राप्त शुभकामना सन्देश वाचन गरेकी थिइन् ।
अविभावक दिवसको अवसरमा विभिन्न सांगीतिक कार्यक्रम पनि रहेका थिए । जसमा विद्यालयका विद्यार्थी र राष्ट्रि कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक सञ्जय गुरूङ, श्रीेदेवी देवकोटा, सुष्मा लामा, केसी माया रामदामको विशेष प्रस्तुति समेत रहेको थियो ।
त्यस्तै कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरू, शिक्षाविद्हरू, सामाजिक अभियन्ता, राजनितिज्ञ, नीजी शैक्षिक संस्थाका अग्रजहरूको बाक्लो उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक निर्देशक जे.वी दवाडीले विद्यालयको तर्फबाट सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै गरेका थिए ।


















