मकै खेती गर्ने समयमा वर्षा नहुँदा उदयपुरका किसान चिन्तित
वि.सं.२०७९ फागुन २० शनिवार १४:३५
shares

काडमाडौं, २० फागुन । अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् ।
माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ । तर अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ ।
मकैखेतीको मौसम सुरु भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगर भन्छन्, “माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन ।”
अहिलेसम्म एकपटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ । उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले समयमा मकैखेती गर्न नपाएको गुनासो गर्दै भन्छन्, “खडेरीले मर्क छर्न समस्या भएको छ ।”
विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन । सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ । फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनको भनाइ छ । खडेरी बढ्दै गएकाले मकै छर्न ढिलाइ भएको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक वीन्द्रबहादुर मगर बताउछन् ।
त्रियुगा नगरपालिका–१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षअघि पनि अहिलेको जस्तै समस्या आएको स्मरण गरे । उनी बताउछन्, “त्यो बेला पुसदेखि एकपटक पनि वर्षा भएन, जबर्जस्ती फागुन सुक्खामा मकैखेती ग¥यौँ । जबर्जस्ती उम्रेका बिरुवा सबै मरे, विसं २०७४ मा पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै रहेन ।”
दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भयो । बीउ नै नरहेपछि गत वर्ष मकैखेती गर्ने जिल्लाका पहाडी क्षेत्रका कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनुपरेको बताउँछन् ।
यहाँका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाइएको छ ।


















