उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता
वि.सं.२०७९ फागुन २९ सोमवार १७:०५
shares

काठमाडौं, २९ फागुन । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ’काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड’ का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो । त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपालको दोस्रो ठुलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताए ।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याउएका छन् । चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढनु पर्ने आबश्यकता औल्याएका छन् । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चारबर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला भएकोले सहजता भएको बताएका छन् । कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट ब्यापारमा समेत असर परेको बताए । नेपाल आफुहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताएका छन् ।झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए ।
















