Dhulikhel Eco Banner new

कागती बेचेर २० लाख आम्दानी

5.23K
shares

काठमाडौं, १९ चैत । मोरङको पथरी शनिश्चरेका वडा नम्बर २ का रुद्रमणि न्यौपानेको दैनिकी कागती बगानमा नै वित्छ । विहानको सूर्योदयसँग उनको दैनिकी गाउँको विचमा रहेको कागती बगानबाट सुरु हुन्छ । उमेरले ४५ वर्ष टेकेका उनको दुई बिघा क्षेत्रफलमा फैलिएको कागतीले गाउँकै सुन्दरता समेत बढाएको छ । पातलको गाउँको बीचमा रहेको उनको त्यो बगान निकै मनमोहक देखिन्छ ।

लामो समय विदेशमा परिश्रम गरे न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किए । विदेश गएर काम गर्दा पनि आर्थिक अवस्थामा सुधार नआएपछि उनी गाउँमै कागती खेतीमा रमाउन थाले । उनलाई अहिले कागतीले राम्रो प्रतिफल दिन थालेको छ ।
दुई बिघा जग्गा भाडामा लिएर कागतीखेतीसँगै नगदे बालीको पनि खेती गरिरहेका उनको बगानमा यतिबेला लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा १ हजार २०० कागतीका बोट छन । फार्मले तीन जनालाई रोजगारी दिएको छ ।

बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा तीन रुपैयाँ र बिरुवा प्रतिगोट ८० रुपैयाँका दरले बिक्री गर्दै आएको उनी सुनाउँछन् । ‘चार वर्षअघि ३२ लाख रुपैयाँ लगानीमा कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली पनि लगाउने गरेको छु,’ उनले भने । बगानमा वार्षिक सात लाख रुपैयाँ दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको उनको भनाइ छ ।

कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्न आउने गरेको उनी सुनाउँछन् । बिरुवा बिक्रीबाट ८ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । कागतीको दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाख रुपैयाँमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन् ।