हेरिटेज गार्डेनमा देखियो उमेशलाल समूहको शक्ति, प्रदेश अध्यक्षहरुले भने– विकल्प खोज्नै सकिन्न
वि.सं.२०७९ चैत २१ मंगलवार ०८:००
shares

काठमाडौं, २० चैत । आगामी २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावको प्रचारप्रसार अहिले निकै राम्रो चलेको छ । आकांक्षीहरुले प्रचारप्रसारमात्रै गरेका छैनन्, टिम घोषणा नै गरेर चुनावी मैदानमा होमिएका छन् । केही साता पहिले अञ्जन श्रेष्ठले टिम सहित उम्मेदवारी घोषणा गरे । आइतबारमात्रै रामचन्द्र संघईले टिम घोषणा गरे ।
सोमबार भने उमेशलाल श्रेष्ठले टिम सहित उम्मेदवारी घोषणा गरे । सार्वजनिक गरिएका तीन घोषणा कार्यक्रम मध्ये उमेशलाल श्रेष्ठको टिम घोषणामा सानदार उपस्थिति देखियो । लगभग सबै प्रदेश अध्यक्षहरुले उमेशलाल समूहलाई जिताएरै छाड्ने प्रतिवद्धता जनाए ।
त्यतिमात्रै होइन, प्रदेश अध्यक्षहरुले उमेशलाल श्रेष्ठ टिमका विरुद्धमा उम्मेदवारी दिनेहरु चुनावी भाषमा सोत्तरै हुने बताएका छन् । यो टिमको उम्मेदवारी घोषणा कार्यक्रममा देखिएको उपस्थितिले पनि उमेशलाल समूह निकै वलियो छ भन्ने देखाउछ । अझ रोचक कुरा त, केही दिन अघि अञ्जन श्रेष्ठको सचिवालयले गण्डकी प्रदेशले अञ्जन श्रेष्ठलाई समर्थन गर्ने निर्णय नै गरेको भनेर समाचार पठाएको थियो । तर, त्यसको खण्डन गण्डकी प्रदेशकै अध्यक्ष अमृत भट्टचनले गरे ।
उमेशलाल समूहको टिम घोषणामा नै उपस्थित भएर अमृतले उमेशलाल समूहको विकल्प खोज्नै नसकिने बताएका छन् । कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका उनले महासंघलाई साच्चिकै महासंघ जस्तो बनाउनका लागि पनि उमेशलाल समूहले जित्नु पर्ने आवश्यकता रहेको र जितेरै छाड्ने बताए । अर्थात, अञ्जन श्रेष्ठ अब आफ्नै गृह प्रदेशमा समेत अल्पमतमा परेका छन् ।
प्रदेश अध्यक्षहरुको भयंकर सपोर्ट
आगामी चुनावमा उमेशलाल समूहलाई जिल्लानगरबाट निकै वलियो समर्थन हुने सोमबारको कार्यक्रमले स्पष्ट संकेत गर्छ । सात प्रदेश अध्यक्षहरु मध्ये उमेशलाल समूहको टिम घोषणा कार्यक्रममा पाँच अध्यक्षहरुको त उपस्थिति नै थियो । उनीहरुले खुलेरै उमेशलाल समूहको प्रशंसा गरे । अन्य २ जना पनि जहाज ढिला उडेको कारण उपस्थित हुन नसकेको उमेशलाल श्रेष्ठले बताएका छन् । उमेशलाल समूहबाट वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट तर्फको उपाध्यक्षमा भरत आचार्य उम्मेदवार छन् ।
जिल्ला नगर तर्फको बहालवाला उपाध्यक्ष समेत रहेक दिनेश टिममा रहेका कारण पनि उमेशलाल समूह जिल्ला नगरमा निकै प्रभावशाली देखिएको छ । बहुसंख्यक जिल्लानगर अध्यक्षको रोजाइमा दिनेश श्रेष्ठ छन् । अर्थात उनीहरुले उमेशलाल समूहलाई भोट हाल्ने बताएका छन् ।
उता वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार हेमराज ढकाल महासंघका पूर्व अध्यक्ष एवं महासंघको राजनीतिमा निकै प्रभावशाली मानिने चण्डिराज ढकालका सहोदर भाइ हुन् । पूर्व अध्यक्ष दाजुको सपोर्ट त छदैछ, त्यसबाहेक हेमराज ढकाल आफै पनि निकै वलिया उम्मेदवार हुन् ।
एसोसिएट तर्फको उपाध्यक्ष उम्मेदवार भरत आचार्य त एसोसिएटकै सर्वशक्तिमान व्यक्ति हुन् । उनी सर्वसम्मत नै हुने छाँट देखिएपछि अञ्जन श्रेष्ठले ज्योत्सना श्रेष्ठलाई उठाउने घोषणा गरेका थिए । तर, अहिले उनै ज्योत्सनाले समेत अञ्जनको साथ छाडेकी छिन् । आफ्नै प्यानलमा उठ्ने भनेर सार्वजनिक कार्यक्रममा नै घोषणा गरेकी उम्मेदवारले साथ छाड्नदेखि गृह प्रदेशमै समेत कमजोर देखिएपछि अञ्जन श्रेष्ठ भने तनाबमा छन् ।
सोमबार हेरिटेज गार्डेनमा महासंघको कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, मधेश प्रदेश समितिका निवर्तमान अध्यक्ष गणेश लाठ, वागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही लगायतले सक्रिय सहभागी जनाए । मधेस प्रदेशका गणेश लाठले त उमेशलाल श्रेष्ठले मधेस प्रदेशका १५ मध्ये १३ जिल्लामा सोत्तरै बनाउने घोषणा नै गरिदिएका छन् ।

















