Dhulikhel Eco Banner new

पेशागत महासङ्घ २८औँ वर्षमा प्रवेश

7.96K
shares

काठमाडौं, ६ जेठ । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार आयोजित २८औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए । उनले महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने तयारी भएको र सङ्गठनलाई थप प्रभावकारी बनाउने योजना ल्याइने बताए ।

महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिए । महासङ्घका सचिव डा ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामती कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जीनियरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।