दश वर्ष कोरियामा दुःख गरेको पैसा सहकारीमा डुब्यो : सहकारी पीडित
वि.सं.२०८० साउन २ मंगलवार ०७:००
shares

काठमाडौं, १ असार । काठमाडौंको बसुन्धारामा केन्द्रिय कार्यलय रहेको उत्तम बचत तथा ऋण सहकारीबाट ठगिएका एक युवकले आफुले कोरियामा १० वर्ष दुःख गरेर कमाएको ७० लाख डुबेको गुनासो गरेका छन् । विगत ४० दिनदेखि माइतीघर मण्डलामा आन्दोलनमा रहेका उनी भविष्य सुनिश्चित गर्न सहकारीमा पैसा राखेको बताउँछन् ।
उनले सहकारी विभागले सहकारीलाई दर्ता नंम्बर दिएर ठग्न पठाएको भन्दै आक्रोश पोखेका छन् । ‘भविष्य सुनिश्चित गरौं पेन्सन जसरी खाउँ भनेर बचत गरियो आज यस्तो भयो हामी सोझो मान्छेलाई यसरी ठग्छन् भन्ने थाहा भएन’ उनी भन्छन्,‘दश वर्ष कोरीयामा बसेर भोटेहरुको गाली खाइ खाइ तनावले कमाएको पैसा हो त्यो ।’
सहकारीले १७ प्रतिशत ब्याज दिने गरेको उनको भनाइ छ । उनले एउटै परिवारको कोहि व्यवस्थापक कोहि अध्यक्ष बनेकोप्रति पनि आपत्ति जनाएका छन् । ‘सरकारले सहकारीको टाउँकोमा बन्दुक राखेर हामीलाई पट्काइदियो’ उनले भने,‘ हाम्रो समस्या बैरो सरकारले सुनेन अन्धो सरकारले देखेँन’ ।
उनले सहकारीले पैसा फिर्ता गर्न नसक्ने अवस्था सिर्जना आएपछि आफुले लगानी गरेको जग्गा किन्न आग्रह समेत गरेको बताए । ‘सहकारीले जग्गा देखाएर जग्गा नै किन्नु भनेको थियो तर त्यो जग्गा जति चलन चल्तीमा छ त्यो भन्दा दोब्बर मूल्य भन्छ अनि हामीले कसरी लिने ?, उनले भने, ‘ त्यहिँ पनि मैले किन्थे होला तर मेरो ७० लाख छ भने ७० लाखको १०० प्रतिशत रकम नै थप्नुपर्ने रे अहिले मसँग १ लाख त छैन त्यति धेरै कसरी थप्नु ।’
उक्त सहकारीको अध्यक्षलाई हाल पुर्पक्षको लागि जेलमा राखेको समेत उनले बताएका छन् । एटिएम को समेत विश्वास नगर्ने उनी यत्रो पैसा सहकारीमा राखेर डुबेको प्रति आफै अचम्मित छन् । ‘ म एटिएम पनि विश्वास गर्दिनथे कार्ड राखेपछि पैसा दिँदन कि भनेर’ उनी भन्छन्,‘कहिँले यस्तो समय पनि पर्न जाने रैछ र २ प्रतिशत लोभमा पनि परियो ।’



















