इन्जिनियरको पढाई सकेपछि त्रिभुवन हाते ट्याक्टर लिएर गाउँ फर्किए
वि.सं.२०८० भदौ १ शुक्रवार १५:२८
shares

काठमाडौं, १ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेको खोरमा अहिले उन्नत जातका बाख्रा छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपाने पढाई सकेर विसं २०६९ मा नेपाल फर्किएका थिए । नेपाल फर्किए लगत्तै उनले घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने । गाउँमा हाते ट्रयाक्टरको माग धेरै भएकाले ट्याक्टले जोतेरै केही पैसा कमाए र त्यही पैसाले तीनवटा माउ बाख्रा किने ।
न्यौपानेलाई विसं २०७० मङ्सिरमा ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेका थिए । ‘हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको ७७ हजार रुपैयाँले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए ।’ बाख्रा किन्दाको कुरा सुनाए । उनको घरमै थियो केही स्थानिय बाख्रा । आठवटा बाख्रा भएपछि भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरे । न्यौपाने भन्छन् ‘अहिले मेरो बाख्रापालनमा करिब ८० लाख रुपैयाँ लगानी पुगेको छ ।’
१६ लाख लगानीमा निर्माण गरिएको उनको आधुनिक खोरमा अहिले शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ पाठापाठी छन् । न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् ।
न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गरेका छन् ।
उनी भारतमा छँदा पढ्दै जागिर पनि गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुन सक्दैन भन्ने लागरै ब्यवसाय सुरु गरेको उनको भनाई छ ।
तन्नेरी पुस्ताका लागि उदहारणीय व्यक्तित्व भएपनि सरकारले उपलब्ध गराउने अनुदानप्रति उनी खुसी छैनन् । अनुदानका नाममा दिइने पैसा दुरुपयोग भएको उनलाई लागेको छ । ‘किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ ।’ उनले भने । गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भएको अनुभव गरेका न्यौपानेलाई बैंकहरुले सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिने परीपाटी पनि मन परेको छैन ।
विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उनको विश्वास छ । बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेकोे दाबी छ । विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेको भनाइ छ ।
न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमानले बाख्रापालन व्यवसायमा पाएको सफलताले गर्व महसुस हुने गरेको बताइन् । युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको धारणा राखे । कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग रहने बताउछन् ।



















