बाढीले पुरेको कागवेनी क्षेत्रमा भेटियो १ करोड ६५ लाख नगद
वि.सं.२०८० भदौ ३ आइतवार १८:२९
shares

काठमाडौं, ३ भदौ । मुस्ताङमा भारी वर्षपछि आएको बाढीले पुरिएको कागवेनी बस्ती खोतल्दा एक करोड ६५ लाख रुपैयाँ भेटिएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार उद्धारकर्ताले स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा प्रभु बैंक कागवेनी शाखाको ६५ लाखभन्दा बढी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कागवेनी शाखाको एक करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद भेटिएको हो ।
थोरङ्लापास र मुक्तिनाथ क्षेत्रमा परेको अविरल वर्षापछि गत साउन २८ गते साँझ स्थानीय कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागबेनी बस्ती पुरिएको थियो ।
कागखोलामा आएको बाढीले कागवेनीका २९ वटा घर, ४ नम्बर वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति पुगेको थियो । जनशान्ती माध्यामिक विद्यालय भवन, मुक्तिनाथ क्षेत्र शान्त आश्रम धर्मशाला र १३ जना स्थानीयको घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, ९ वटा गोठसहित ३२ वटा गाई, घोडा र खच्चड पुरिएका थिए ।
बाढीको गेग्रान र लेदो बस्तीमा पसेपछि १६ वटा मोटरसाइकल, २ वटा जिप, कागवेनीस्थित श्राद्धस्थल, श्रीकृष्ण मन्दिर, जोमसोम–कोरोला सडकको मोटरपुल, तिरी जोड्ने झोपु, ३ वटा काठेपुल र एउटा स्काभेटर पुरिएको थियो ।









