नबिल बैंकको नाफा १ अर्ब ४६ करोड, चुक्तापूँजी २७ अर्ब ५ करोड
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ११:३९
shares

काठमाडौं, १७ कात्तिक । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४६ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।
गत वर्षको तुलनामा बैंकको खुद नाफामा केही गिरावट आएको छ । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५७ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६८ प्रतिशत कम भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ रहेको छ । बैंकले पहिलो त्रैमाससम्म ४ खर्ब १४ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५३ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।


















