सूर्यज्योति लाइफ इन्स्योरेन्स माथि लाग्यो कर छलीको आरोप
वि.सं.२०८० पुस २ सोमवार ०९:४९
shares

काठमाडौं, २ पुस । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर छली अभियोगमा मुछिएको छ । सूर्यज्योति लाइफले तिर्नु पर्ने कर नतिरेको भन्दै आन्तरिक राजश्व विभागमा उजुरी परेको हो । विभागका एक उच्च अधिकारीले सूर्यज्योति लाइफविरुद्ध कर छली भएको भन्दै उजुरी परेको पुष्टि गरे ।
‘२ कम्पनी मर्जर भएर सूर्यज्योति लाइफ बनेको रहेछ, मर्जर अघिका दुबै कम्पनीले कर छली गरेको भन्दै उजुरी परेको छ’ ति अधिकारीले भने, ‘उजुरी पर्ने वित्तिकै कर छली नै भयो भनिहाल्न मिल्दैन, केकसो भएको हो छानवीन हुन्छ ।’ साविकका सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स एक आपसमा मर्ज भएर सूर्यज्योति लाइफ इन्स्यारेन्स बनेको थियो ।
मर्जर अघिका दुबै कम्पनीले खर्च देखाउँदा ठूलो रकमको प्यान विलमार्फत भुक्तानी दिइएको पाइएको छ । प्यान विलको भुक्तानी दिदा १५ प्रतिशत करकट्टी गरेर भुक्तानी दिनुपर्ने हुन्छ । त्यसरी भुक्तानी दिएर करकट्टी गरेको रकम राजश्व कार्यालयमा राजश्व दाखिला गर्नुपर्ने हुन्छ । सूर्यज्योतिले भने धेरै विलहरुमा करकट्टी नै नगरेको र गरेका कतिपय विलहरुको पनि राजश्व दाखिला नगरेको उजुरीमा उल्लेख छ । यस विषयमा बुझ्न कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनाली (मोवाइल नं. 9801238409) लाई सम्पर्क गर्न खोन्दा सम्पर्क हुन सकेन ।


















