Dhulikhel Eco Banner new

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’

3.67K
shares

म्याग्दी, ५ माघ । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली १० वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए ।

पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो १० वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् ।

“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर विसं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए”, उनले भने, “त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन्छ जस्तो लाग्यो ।” अहिले सुन्तला खेती पेन्सनजस्तो भएको उनले बताए ।

चन्दबहादुरले यस वर्ष २५० बोटबाट २ लाख ३६ हजार रुपैयाँको सुन्तला बिक्री गरेको जानकारी दिए । यसअघि एकै वर्षमा ४ लाख रुपैयाँसम्मको सुन्तला बिक्री गरेको उनले बताए ।

मालिका–७ बिमका ४५ वर्षीय भवीराज जुग्जाली पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताए । वार्षिक ४ लाख रुपैयाँ हाराहारीको सुन्तला बेच्ने जुग्जालीको बगैँचामा ३०० बोट छन् ।

“घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ”, उनले भने, “दुई लाख कमाउनका लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखाबारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ ।”

सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई छोरीलाई पोखरामा स्नातक तहमा बढाएका छन् । श्रीपाली र जुग्जालीजस्तै मालिका गाउँपालिका–७ बिममा पर्ने दुले, नराले, टुनीबोट, दोबाटो, भारवाङ, नौमानेका बासिन्दाले सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

६० भन्दा बढी घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका भरवाङका हेम पुनले बताए । “सडक, यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तला खेती फस्टाएको छ”, उनले भने “कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।”

कृषक शिव गौतमका अनुसार मालिका गाउँपालिकाको वडा नम्बर ७ बाट यस वर्ष ९० लाख लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । “गत वर्ष १ करोडभन्दा बढी मूल्यको सुन्तला निकासी भएको थियो”, उनले भने, “सुन्तला खेती गरेका घरधुरीमा पुगेर सङ्कलन गरेको विवरणअनुसार यसपालि ९० लाखको निकासी भएको छ ।”

यस वर्ष प्रतिकिलो ५५ देखि ६५ का दरले सुन्तला बिक्री भएको छ । सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन् । पोखरा र काठमाडौँमा बिमको सुन्तला निकासी हुन्छ । गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गर्छन् ।

पोखराका व्यापारी पनि सुन्तला किन्न बगँैचामै आउने गरेका कृषकको भनाइ छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषक बताउँछन् ।