सडक निर्माण प्रदेश सरकारको प्राथमिकता
वि.सं.२०८० माघ २३ मंगलवार १६:४६
shares

गोरखा, २३ माघ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्रका पालिका र वडाहरुमा बाह्रै महिना चल्नसक्ने गरी मुख्य सडक निर्माण गण्डकी प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् ।
आरुघाट गाउँपालिकाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा उनले प्रदेशभित्रका केही पालिकामा अझै पनि सडक सञ्जाल नपुगेको भन्दै त्यसता पालिकामा आगामी आर्थिक वर्षसम्म सडक सञ्जाल पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सडक सञ्जाल नपुगेका पालिका तथा वडामा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता हुने उनको भनाइ छ । “जुन–जुन पालिका र वडामा अहिले बाटोले छोएको छैन ती सबै ठाउँमा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको लक्ष्य छ”, मुख्यमन्त्री पाण्डेले भने, “पालिकामा हिउँद र बर्खामा यातायात चल्नसक्ने सडक पु¥याएपछि वडाको केन्द्रमा पु¥याउने र क्रमशः त्यसलाई स्तरोन्नति गर्दै जाने हो ।”
उनले गाउँको मुख्य बाटोलाई सबैले प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्री पाण्डेले पछाडि परेका मनाङ, मुस्ताङ र उत्तरी गोरखाको विकासलाई अन्य क्षेत्रमा जस्तै समानुपातिक ढङ्गले अघि बढाउनुपर्ने बताए ।
“मनाङको लार्फाभूमि गाउँपालिकामा अझै सडक सञ्जाल पुगेको छैन, चुमनुब्री गाउँपालिका भर्खर मात्र सडक सञ्जाल पुगेको छ”, उनले भने, “अब ती क्षेत्रमा पनि सडक सञ्जाल पु¥याउनेछौँ ।”















