Dhulikhel Eco Banner new

बागलुङमा ‘चैते दशैं मेला’ लाग्दै, मेलाको आकर्षण के छ ?

9.43K
shares

बागलुङ, २७ फागुन । बागलुङमा चैते दशैं मेला चैत ३० गतेदेखि लाग्ने भएको छ । बाग्लुङको कालीका गुठी व्यवस्थापन समितिले आयोजना गर्ने मेला बैशाख ६ गते सम्म चल्ने अयोजकले जनाएको छ ।

मेला बागलुङ नगरपालिका– १ बाल उद्यान रामरेखामा लाग्ने समितिले जनाएको छ । लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको प्रवर्द्धन स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मुल नाराका साथ मेलामा विभिन्न कार्यक्रमहरु अयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

मेलामा कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला बाल उद्यानलगायतको कार्यक्रम कार्यक्रम रहेको अयोजक कमिटिले जनाएको छ ।

‘बागलुङ सदरमुकाममा सयौं वर्षदेखि चैत्राष्टमी मेला चल्दै आएको छ’, कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले भने, ‘यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको छ ।’

मेला लाग्ने ठाउँमा अवस्थित कालीका भगवती मन्दिरमा मेला अवधिमा ५ लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान अनुमान रहेको राजभण्डारी बताउँछन् । ‘आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ’, राजभण्डारीले भने, ‘ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ ।’