सामाजिक कथामा आधारित चलचित्र ‘मिरा : स्याडो अफ अ रेन्बो’ (भिडियो अन्तरवार्तासहित)
वि.सं.२०८१ वैशाख २ आइतवार ०९:३८
shares

काठमाडौं, २ वैशाख । सामाजिक कथामा आधारित चलचित्र ‘फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ तयार भएको छ । केही समय अघि यसचलचित्रको ट्रेलर सार्वजनिक समेत गरिएको छ ।
चलचित्रकी निर्देशक एवं नायिका अनिता पण्डितका अनुसार अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण जीवन फिल्ममा हेर्न पाइनेछ । उनका अनुसार चलचित्रमा आध्यात्मिक चिन्तनको पाटो समेत समेटिएको छ ।
एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा फिल्म बनेको हो ।
फिल्ममा निर्देशक अनिता सहित सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय छ । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्र अन्य चलचित्र भन्दा फरक रहेकाले फरक तरिकाले शो गरिने निर्देशक पण्डित बताउछिन् ।
उनका अनुसार काठमाडौंसहित नेपालका विभिन्न ठाउँहरुमा गएर यसचलचित्रहरुको प्रदर्शन गरिनेछ । यहीँ महिना पोखरासहितका अन्य ठाउँहरुमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।
सामाजिक चलचित्र भएकाले यसलाई प्रदर्शन गर्न चाहने संघसंस्थाहरुसँग समेत सहकार्य हुने निर्देशक पण्डितले जानकारी दिइन् । स्वदेश तथा विदेशमा प्रदर्शन गर्न उनले विभिन्न संघ संस्थाहरुसँग आह्वान समेत गरेकी छिन् ।
नेपालका विभिन्न जिल्लाहरुमा उद्योग वाणिज्य संघ, स्थानीय सरकार र विदेशमा गैरआवासीय नेपाली संघसहित अन्य सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले फिल्मलाई प्रदर्शन गर्न सहकार्य गर्न सक्ने निर्देशक एवं अभिनेत्री पण्डितले बताइन् ।
चलचित्रका प्रमुख मध्येका एक अभिनेता कैलाश रावलले फिल्म एकदमै राम्रो बनेको बताए । यसले सामाजिक सोच परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
फिल्मका बारेमा केटिएम भ्वाइसले निर्देशक एवं अभिनेत्री अनिता पण्डित र अभिनेता कैलाश रावलसँग कुराकानी समेत गरेको छ । पूरा कुराकानी भिडियोमा हेर्नुहोस्…



















